प्रचण्ड र बाबुराम दुबै पदलोलुप
एमाओवादी अध्यक्ष प्रचण्डले यसैसाता मोहन वैद्यलाई ‘दोस्रो मोहनविक्रम सिंह’ को संज्ञा दिनुभएको थियो । तर, वास्तविक मोहनविक्रम सिंहले चाहिँ प्रचण्ड, बाबुराम र मोहन वैद्यलाई के भन्नुहुँदो हो ? सिंहको आरोप छ- वैद्य र राजावादीहरु एकठाउँमा उभिन्छन् । अनलाइनखबरले नेकपा मसालका महामन्त्री सिंहसँग एमाओवादी, माओवादी र मुलुकको तत्कालीन राजनीतिक स्थितिबारे कुराकानी गर्दा उहाँले भन्नुभयो-’प्रचण्ड र बाबुराम माक्र्सवाद लेनिनवादबाट धेरै तल गिरिसकेका छन् ।’
अहिले सरकारमा एमाओवादीले खेलेको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–अहिले संविधानसभा नभएको अवस्थाबाट फाइदा उठाएर उनीहरु यो सत्तालाई लामो समयसम्म कायम राख्ने र लम्ब्याउने प्रयत्न गरिराखेका छन् । उनीहरु राष्ट्रिय सहमतिको सरकार बन्न दिँदैनन् । सहमतिको सरकार नबने चुनाब हुँदैन । अध्यादेशमार्फत् राष्ट्रपतिलाई दबाव दिएर उनीहरु आफ्नो शासन लम्ब्याउन चाहन्छन् । उनीहरुको यो कार्यप्रणालीले लोकतन्त्रलाई मात्रै होइन, स्वयं उनीहरुलाई पनि फाइदा गर्दैन । यसबाट भोलि कुनै पनि दिशाबाट नयाँ शक्तिहरु पैदा हुन सक्छन् र बहुदलीय प्रणालीलाई, माओवादीलाई र हामी सबैलाई खत्तम गर्न सक्छ । त्यसैले उनीहरुले अहिले जुन प्रकारको नीति अपनाइरहेका छन्, यो गम्भीर प्रकारको गल्ती हो ।
सेना र एमाओवादीवीच सम्बन्ध सुधि्रन थालेको बताइँदैछ, उनीहरुले कुनै पनि बेला ज्ञानेन्द्रसँग मिलेर लोकतन्त्र मास्ने सम्भावना छ कि छैन ?
–एमाओवादी भनेको अवसरवादी र ‘क्यारिअरिस्ट’ हो । उनीहरुले कुनै सिद्धान्त र नीतिका आधारमा काम गर्दैनन् । आफ्नो क्यारिअर बनाउनका लागि जुनबेला, जुन शक्तिसँग पनि मिल्न सक्छन् । हामीले यो कुरा बारम्बार भन्दै आएका छौं । जो सँग सिद्धान्त हुन्छ, उसले सिद्धान्त मिल्नेसँगमात्रै सहकार्य गर्छ, तर जो अवसरवादी छ, ऊ जोसित पनि मिल्न सक्छ । उदाहरण त हाम्रै अगाडि छँदैछ, विगतमा यिनीहरुले राजावादीसँग मिलेर बहुदलीय व्यवस्था मास्न प्रयत्न गरे । भारतसँग मिलेर आफ्नो फाइदा उठाउने प्रयत्न गरे । अमेरिका गएका बेला नेपालमा दुईसय वर्ष समाजवाद आउँदैन भने । यी सारा चिजले गर्दा यिनीहरु कुनै पनि बेला कुनै पनि समूहसित मिल्ने सम्भावनालाई हामी अस्वीकार गर्दैनौं ।
एमाओवादीले सत्ता कब्जा गर्ला त ?
–यो उनीहरुको अपरिपक्व सोचाइ हो । दाङमा हतियार कब्जा गरेका बेला उनीहरुले काठमाडौं कब्जा गर्ने कुरा गरेका थिए । त्यसपछि प्रचण्ड सरकारमा भएका बेला सेनापति रुक्माङ्गद् कटवालका टाउँमा कुलबहादुर खड्कालाई ल्याएर सत्ता कब्जा गर्न खोजेका थिए । त्यसमा पनि सफल भएनन् । यिनीहरु सोच्न त सोच्छन्, तर सोच्दैमा त्यो पूरा हुन सक्दैन । उनीहरु अपरिपक्व किसिमले सोच्छन् । तर, यसरी लोकतन्त्रलाई कमजोर पार्ने काम गरियो भने यसको फाइदा प्रतिक्रियावादी र विदेशी शक्तिहरुले उठाउँछन् ।
तपाईहरु कांग्रेस, एमालेसहित ९ दलको संयुक्त आन्दोलनमा हुनुहुन्छ, कहिले आन्दोलन सफल होला ?
–समयबारे अहिले हामीले केही पनि विश्लेषण गरेका छैनौं ।
आन्दोलन दीर्घकाल जान्छ कि चाँडै टुंगिन्छ ?
–अहिले आन्दोलनको पक्ष अत्यन्तै कमजोर छ भन्ने हाम्रोे विश्लेषण रहेको छ । लोकतान्त्रिक आन्दोलनको पक्षमा भएका शक्तिहरु अहिले विभाजित छन् । स्वयं नेपाली कांग्रेस र एमालेको ठोस नीति र भूमिका छैन । यसले गर्दा आन्दोलनले छिटै सफलता हासिल गर्छ भन्ने देखिन्न ।
आन्दोलनमा के कमजोरी देखिएका छन् ? यसलाई सुधार्ने उपाय के हो ?
–आन्दोलनको विषयमा कांग्रेस र एमालेसँग ठोस कार्यक्रम छैन । उनीहरुमा ढुलमुल प्रकारको चरित्र छ । हामी कांग्रेस एमालेसँग आन्दोलनमा सहकार्य गरिरहेको भए पनि वैद्य पक्षलाई समेत भट्टराई सरकारविरुद्ध आन्दोलनमा लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ छ । वैद्य पक्ष राष्ट्रियताको पक्षमा आन्दोलनमा आउँछ भने लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ रहे पनि उनीहरुलाई संयुक्त आन्दोलनमा आउन अप्ठ्यारो परेको छ । यिनीहरु प्रचण्डभन्दा पनि बढी जातिवादको कट्टर समर्थक छन् । कांग्रेस, एमालेमा यस्तो छैन । अर्कोतिर हामी संघीयताको विरोध गर्छौं, उनीहरु संघीयताको समर्थन गर्छन् । अर्कातिर डेकेन्द्र थापाको प्रश्नले पनि अप्ठ्यारो पारेको छ । सबै दलहरु डेकेन्द्र हत्याको विरोधमा छन्, वैद्य पक्षले डेकेन्द्रका हत्यारालाई जोगाउन पूरा प्रयत्न गरिराखेका छन् । यसले गर्दा संयुक्त आन्दोलनमा कयौं जटिलताहरु छन् । तैपनि हाम्रो जोड कुनै खास इस्युमा मिलेर संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने रहेको छ । शुरुमा कांग्रेस, एमालेले पनि हामीलाई संघीयता विरोधी भन्दै मिलेर जान अन्कनाएर आफूले मात्रै आन्दोलन घोषणा गरेका थिए ।
आन्दोलनमा देखिएको यस्तो जटिलताको फाइदा एमाओवादीलाई पुग्छ होला होइन ?
–यसको फाइदा एमाओवादीलाई पुग्छ, एमाओवादीभित्रको अन्तरविरोधको फाइदा अरुलाई पुग्छ ।
कसरी ?
माओवादीभित्रको एउटा समस्या बाबुराम र प्रचण्डवीचको विवाद हो । बाबुराम सत्तामा छन् । तर, उनी सत्तामा भएको प्रचण्डलाई राम्रो लागेको छैन । आफ्नो क्यारिअरिस्ट चरित्रअनुसार प्रचण्ड आफैं प्रधानमन्त्री हुन चाहन्छन् । उनीहरुवीचको यो अन्तरविरोध बाहिरै देखापर्ने गरेको छ । हालै प्रचण्डले सबैले मान्छन् भने म प्रधानमन्त्री हुन तयार छु भने । बाबुरामले यो त ठट्टामात्रै हो भनेर यसलाई अवमूल्यन गरेर प्रचण्डलाई निषेध गरिदिए । बाबुरामलाई हटाएर आफू प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने प्रचण्डलाई छ भने बाबुरामचाँहि पार्टीमा आफ्नो पकड कमजोर भए पनि, संविधानसभा नभए पनि भारत र मधेसवादीहरुको समर्थनले टिक्न सकिन्छ भनेर ढुक्क लागेको छ । प्रचण्डले केही पनि गर्न सक्दैनन् भन्ने छ । यो कुरा प्रचण्डले पनि बुझेका छन् । यसले गर्दा उनीहरुवीच भोलि नयाँ प्रकारको अन्तरविरोध पैदा हुने स्थिति देखिन्छ । यही कारण उनीहरु आफ्नो स्थिति मजबुद पार्ने कोशिसमा छन् । बाबुराम लामो समय रहे भने स्थिति मजबुत पार्छन्, त्यसैले यिनलाई हटाउन पाए हुन्थ्यो भन्ने प्रचण्डलाई लागेको छ । यही भएर प्रचण्डले कयौंपटक विकल्प ल्याए, तर बाबुराम सरकारमा रहिरहने पक्षमा छन् ।
एमाओवादी र माओवादीमा के फरक छ ?
–यिनीहरुमा केही वैचारिक भिन्नता छ । तर, यो नै एकमात्रै प्रमुख कारणले पार्टी फुटेको होइन । राजाको प्रश्नलाई लिएर विगतदेखि नै माओवादीभित्र मतभेद रह्यो । विगतमा राजाले विभिन्न कम्युनिष्टहरुलाई आफ्नो नजिक ल्याउने प्रयत्न गरे, जसबाट सबैभन्दा बढी माओवादी प्रभावित बन्यो । राजासँग हाम्रो कार्यगत एकता थियो भनेर माओवादीका नेताहरुले नै स्वीकारिसकेका छन् । वास्तवमा राजाले उनीहरुलाई बहुदलीय व्यवस्थाविरुद्ध उपयोग गरेकै हुन् । त्यसैले माओवादीले बहुदलीय व्यवस्थाविरुद्ध प्रहार गरे, कांग्रेस, एमालेका कयौं कार्यकर्ताहरुको अपहरण र हत्या गरे ।
माओवादीले राजाविरुद्ध दलहरुसँग मिलेर गणतन्त्र ल्याएको हैन र ?
–यिनीहरुले राजाले बढी नै सहुलियत दिन्छन् भन्ने सोचेका थिए । तर, पछि राजाले उपयोग गरेको मात्रै हो भन्ने प्रष्ट भयो । त्यसपछि माओवादीहरु इण्डियातिर झुक्न थाले । इण्डियाले यिनीहरुलाई उपयोग गर्न थाल्यो । माओवादीको अवसरवादी चरित्रले गर्दा उनीहरुलाई कहिले राजाले उपयोग गरे, कहिले इण्डियाले उपयोग गर्यो । तर, त्यसभित्र बाबुराम भट्टराईचाँहि अलिकति गणतन्त्रको पक्षमा देखिन्थे । त्यसपछि चुनवाङ बैठकबाट उनीहरुमा महत्वपूर्ण परिवर्तन भयो । त्यसपछि उनीहरु बहुदलीय व्यवस्थाको विरुद्ध नभई यसको पक्षमा आए । राजतन्त्रको विपक्षमा आए । माओवादीहरु आफ्नो यही नीतिले गर्दा देशमा गणतन्त्र आएको हो भन्ने दाबी गर्छन्, तर हाम्रो दाबी के छ भने उनीहरुको नीति सफल भएको भए नेपालमा गणतन्त्र आउने थिएन, राजतन्त्र नै कायम रहन्थ्यो । किनभने उनीहरुको जोड राजासँग मिलेर बहुदलीय व्यवस्थालाई खत्तम पार्ने थियो । तर, उनीहरुको यो नीति असफल भयो र यतापट्टी आए । उनीहरुको राजनीतिक पराजय भयो । तर, उनीहरुभित्रको ठूलो फोर्सले आन्दोलनलाई मद्दत पुर्याएको पक्ष पनि छ ।
यहाँको विचारमा वैद्य, प्रचण्ड र बाबुराममा को ठीक ?
वैद्यहरुको असन्तुष्टि ०६२/०६३ को आन्दोलनप्रति पनि थियो । चुनवाङ बैठक, बाह्रबुँदे सम्झौता सबैमा उनीहरुको असन्तुष्टि थियो । संविधानसभामा वैद्य चुनिएका थिए, पछि राजीनामा दिए । पछि उनीहरुले हामी लोकतान्त्रिक संविधान बन्न दिन्नौं भन्न थाले । अहिले पनि उनीहरु संविधान बनाउने, संविधानसभाको चुनावमा जाने आदि कुरालाई निषेध गरिरहेका छन् । अहिले पनि उनीहरु जनवादी संविधान चाहिन्छ भनिरहेका छन् । यसरी उच्च क्रान्तिकारी कुराहरु गरेर अहिलेका उपलब्धीलाई निषेध गर्ने नीति सही छैन । हामीले के भनेका छौं भने तपाईहरुले जति क्रान्तिकारी कुरा गरे पनि यसले राजावादीलाई मद्दत पुग्छ । र, यही विन्दुमा गएर राजावादी र मोहन वैद्यहरु एकठाउँमा उभिन्छन् । उनीहरुवीच अघोषित कार्यगत एकता हुन्छ । राजावादीहरु पनि यसैगरी अहिलेका उपलब्धीलाई समाप्त गर्न चाहन्छन् । वैद्यहरु पनि यही विन्दुमा जान्छन् र दुबै मिल्छन् ।
प्रचण्ड, बाबुराम नि ?
–प्रचण्ड-बाबुरामहरु माक्र्सवाद लेनिनवादबाट धेरै तल झरिसकेका छन् । जुन प्रश्नमा माओ र खु्रश्चेभवीच वैचारिक संघर्ष भएको थियो, त्यसमा प्रचण्डले माओको पक्ष छाडेर खु्रश्चेभको पक्ष लिइसकेका छन् । प्रचण्डले शान्तिपूर्ण तरिकाले जनवादमा जान सकिने बताएका छन् । दोस्रो, प्रचण्डले बहुदलीय व्यवस्थालाई रणनीतिक हिसाबले समर्थन गछौर्ं भनेका छन् । यो बहुदलीय व्यवस्थालाई समाप्त पारेर नौलो जनवादतिर जानेे हाम्रो प्रयत्न हुनुपर्ने हो । यो वैचारिक प्रश्नमा बैद्यहरुचाहिँ केही सही ठाउँमा भएकाले हामीले उनीहरुलाई समर्थन गरेका छौं । तर, कार्यनीतिक प्रश्नमा अहिले बहुदलीय व्यवस्थालाई समर्थन गर्नुपर्छ । त्यसैले यसमा हामीले बाबुरामको लाइनलाई समर्थन गर्छौं । प्रचण्डको चाहिँ आफ्नो लाइन कहिल्यै रहेन । कहिले वैद्यतिर, कहिले बाबुरामतिर मिलेर आफ्नो स्थिति मजबुद पार्ने खेलमा मात्रै लागे प्रचण्ड । कार्यनीतिक प्रश्नमा सही लाइन भए पनि बाबुरामको लाइन भारतपरस्त छ, त्यसलाई हामी आलोचना गर्छौं । सैद्धान्तिक रुपमा पनि बाबुराम प्रचण्ड तल गिरिसकेका छन्, राष्ट्रियतामा पनि उनीहरुको दृष्टिकोण सही छैन ।
प्रचण्ड, बाबुराम क्यारिअरिष्ट चरित्रका छन् । उनीहरु पदलोलुप छन् । सिद्धान्त र नीतिलाई भन्दा आफ्नो निजी स्वार्थलाई बढ्ता ध्यान दिन्छन् । तल्लो तहका कार्यकर्ताहरु इमान्दार क्रान्तिकारी भए पनि प्रचण्ड, बाबुराममा यसको कमी रहेको छ । प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि प्रचण्डको नारा एउटै रह्यो, जवसम्म हाम्रो नेतृत्वमा सरकार बन्दैन, तबसम्म संविधान बन्न दिँदैनौं । पछि पनि उनीहरुले संविधान बनाउने कार्यमा बाधा हाल्ने काम गरे ।
दुईवटै माओवादीसँग मिल्ने कुरा पनि छन् कि ?
–प्रचण्ड पक्ष र वैद्यपक्ष दुबै जातिवादमा गएका छन् । अर्को, उनीहरु दुबैपक्षमा सामाजिक फासीवादी प्रकारको प्रवित्ति र शैली छ । उनीहरुले सर्वसाधारणा जनतामाथि जुन ढंगको अत्याचार गरे, त्यो सामाजिक फासीवादी प्रकारको थियो । अहिले दैलेख प्रकरणमा पनि उनीहरु दुबै पक्षको दृष्टिकोण एउटै छ । डेकेन्द्र हत्याका अभियुक्तलाई बचाउन दुबैपक्ष एकै ठाउँमा गएर उभिएका छन् ।
अहिलेको जटिल अवस्थाबाट राजावादीले फाइदा उठाउने सम्भावना कति छ ?
–राजावादीहरु आफैं फाइदा उठाउन सक्ने स्थितिमा छैनन् । तर, अरु दलहरु भन्दा राजाबाट बढी फाइदा उठाउन सकिन्छ भन्ने विस्तारवादी शक्तिले सोच्यो र सामर्थन दियो भनेमात्रै राजावादीहरु अगाडि आउन सक्छन्, अन्यथा आफ्नै बुँतामा आउने स्थिति छैन ।
एमाओवादीलाई निषेध गरेर सिध्याउनुपर्ने कुरो उठ्न थालेको छ, के अब देशमा अतिवाद बढेको हो ? सहमतिको साटो दलहरु सडकमा उत्रिएका छन्…..
–सडकमा कांग्रेस, एमाले आएका होइनन्, एमाओवादीको नीतिले गर्दा यस्तो भएको हो । माओवादीले सहमति हुनै दिएन । उनको सरकारको निरन्तरता हुनुपर्ने र उनीहरुले भनेको मानेमा मात्रै सहमति हुनुपर्छ रे । यो त सहमति हुने कुरै होइन । त्यसैले अहिलेको स्थिति भनेको माओवादीले पैदा गरेको हो । उसले यसो गरिसकेपछि उसका विरुद्ध संघर्षमा जानुबाहेक अर्को के उपाय छ ?
अब सडकबाटै हिसाब-किताब हुन्छ ?
–तार्किक निश्कर्ष त यही हो । तर, आन्दोलन शक्तिमाथि निर्भर गर्छ । आन्दोलनमा जनताको शक्ति आएन भने देश अन्यौलपूर्ण स्थितिमा जान्छ र गलत प्रकारका तत्वहरु अगाडि आउने सम्भावना हुन्छ ।
यहाँको विचारमा नेपालको अबको राजनीतिक भविश्य के हो ?
–देशमा यो स्थिति कायम रहिरह्यो र देश सही समाधानतिर जान सकेन भने अहिलेका सबै राजनीतिक पार्टीहरु असफल सावित भएपछि भावी पिँढीले शायद लामो बलिदान गर्नुपर्ने हुन सक्छ । अहिलेका राजनीतिक शक्तिहरुकै भूमिकाले गर्दा देशमा यस्तो हुन सक्छ । एकातिर माओवादीले देशलाई निकास नदिएर अघि बढ्न नदिने, अर्कातिर अन्य राजनीतिक शक्तिहरुले सशक्तरुपमा आन्दोलन बढाउनका लागि व्यापक जनसमर्थन प्राप्त नहुने स्थितिले देशलाई कठिन अवस्थामा पुर्याउन सक्छ ।
No comments:
Post a Comment