Sunday, March 3, 2013


चुनावको फाइदाः जेठमा भए कसलाई, मंसिरमा भए कसलाई ?

२० फागुन, काठमाडौं । प्रमुख चार राजनीतिक दलहरुवीच प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन आनाकानी र ढिलाइ गर्नुका पछाडि कुन महिनामा चुनाव गर्दा आफ्नो पार्टीलाई फाइदा हुन्छ भन्नेबारे चार दलवीच भित्री हिसाव-किताव नमिलेको नेताहरु बताएका छन् ।
स्रोतको विश्लेषण अनुसार एमाओवादी जेठमा चुनाव गर्ने पक्षमा छ भने एमाले र मधेसवादी दलहरु जेठलाई टारेर मंसिरसम्म सार्न इच्छुक छन् । नेपाली कांग्रेसमा भने कोही जेठमै हुनुपर्छ भन्ने पक्षमा र कोही मंसिरमा सार्दा फाइदा हुन्छ भन्ने निश्कर्षमा पुगेको स्रोतहरुको तर्क छ ।
जेठमा चुनाव गरे एमाओवादीलाई फाइदा
‘एमाओवादी पार्टी फुटेका कारण गत बैसाखमै चुनाव गराउने पक्षमा कांग्रेस, एमालेका नेताहरु थिए, तर हामीले त्यसलाई टार्यौं । बैखाखमा चुनाव गरेको भए हामी कमजोर हुन्थ्यौं ।’ -एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘अब ०७० साल जेठमा चुनाव भयो भने जित्छौं भन्ने हाम्रो विश्लेषण छ । तर, यो तथ्य बुझेकाले एमालेका नेताहरु जसरी पनि चुनावलाई मंसिरसम्म सार्न चाहन्छन् ।’
जेठमा चुनाब हुँदा एमाओवादीलाई फाइदा हुने कारण चाँहि के हो ? अनलाइनखबरको प्रश्नमा एमाओवादी नेता भन्छन् -’पार्टीको महाधिवेशन भर्खरै सकिएको छ । महाधिवेशनका क्रममा गाउँ तहसम्म कार्यकर्ता परिचालन भएकाले महाधिवेशनको उर्जा अझै सेलाएको छैन । यतिबेला वैद्य पक्षको हैसियत पनि कमजोर भएकाले जेठैमा चुनाव गर्दा एमाओवादीलाई फाइदा छ ।’ उनी भन्छन्- ‘माओवादी पार्टी फुटेपछि यसले चुनाब जित्दैन भन्ने कांग्रेस, एमालेलाई भ्रम परेको थियो । तर, महाधिवेशनपछि फुटबाट पार्टीमा असर नपरेको उनीहरुले राम्रोसँग थाहा पाएका छन् ।’ माओवादी नेताको दाबी छ ‘जेठमा माओवादीले जित्ने देखेकाले विपक्षीहरु चुनावलाई जेठभन्दा पछि धकेल्न चाहन्छन् ।’
शुरुमा एमाले एकतावद्ध रहेको र पछि अशोक राईहरु अलग भएपछि उसले बैसाखमै चुनाव गर्ने मागलाई पछि धकेलेको दाबी एमाओवादी नेताहरुको छ । प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउन ढिलाइ गर्ने अनि जेठमा भ्याइएन भन्दै चुनावलाई पछि सार्ने एमालेले रणनीति बनाइरहेको एमाओवादीको बुझाइ छ ।
मंसिरबारे एमाओवादीमा दुई मत
मंसिरमा चुनाव गर्दा पार्टीलाई फाइदा हुन्छ कि घाटा भन्नेबारे एमाओवादीभित्र विवाद देखएकिो छ । स्रोत भन्छ- ‘केही साथीहरु मंसिरमै चुनाव भए पनि हामी जित्छौं भन्नुहुन्छ, तर केही साथीहरुचाँहि जेठमा भन्दा मंसिरमा कम भोट आउन सक्ने बताउनुहुन्छ ।’
माओवादी नेताका अनुसार मंसिरसम्म वैद्य पक्षमा झनै फुट आउने र वैद्यका केही नेता कार्यकर्तालाई मूलधारमा फर्काउन सकिने भएकाले त्यसबेला पनि माओवादीको पोजिसन कमजोर नहुने विश्लेषण एकथरि नेताले गरेका छन् । तर, कार्यकर्तामा पलाएको महाधिवेशनपछिको उत्साह मर्न सक्ने र ढीलो गर्दा विपक्षीले खेल्न पाउने भएकाले पार्टीलाई सकेसम्म जेठमा चुनावमा जानु फाइदाजनक हुने अधिकांश एमाओवादी नेताहरुको विश्लेषण छ ।
एमाले नेता भन्छन्- चुनाव टार्ने एमाओवादी आफैं
एमालेले जेठको चुनाव टार्न र मंसिरमा गराउन खोजेको एमाओवादी विश्लेषणबारे जिज्ञासा राख्दा नेकपा एमालेका सचिव शंकर पोखरेलले भन्नुभयो- ‘त्यो उनीहरुको तर्क हो, तर चुनावलाई समयले केही फरक पार्दैन ।’
एमाले नेता पोखरेलका अनुसार जेठमा चुनाव गर्न प्राविधिक रुपमै भ्याइँदैन कि भन्नेमात्र हो, जहिले चुनाव गरे पनि एमाले तयार रहेको छ । बरु एमाओवादीले नै जेठमा चुनाव नगर्न र टारेर सत्ता लम्ब्याउन खोजिरहेको पोखरेलको आरोप छ । ‘एमाओवादी आफैं अनेक बाहनाबाजी गरेर निर्वाचनलाई टार्न र सत्ता लम्ब्याउन खोजिरहेको छ ।’
जेठमा चुनाव हुँदैन: माओवादी प्रवक्ता
नेकपा माओवादी प्रवक्ता पम्फा भुसालले एमाओवादी नेताको तर्कको खण्डन गर्दै भन्नुभयो- ‘चुनाव महिना वा दिनका आधारमा होइन, एजेन्डाका आधारमा हुन्छ । जनताले दलको एजेन्डा के छ भनेर हेर्छन्, निर्दलीय सरकार बनाएर चुनावमा जाने हो भने अब जनता लाटा छैनन् ।’
तपाईहरुले चुनाव उपयोग गरेको भन्दा बहिस्कार गरिदिए आफूलाई फाइदा हुने एमाओवादीको विश्लेषण रहेछ नि भन्ने अनलाइनखबरको प्रंश्नमा प्रवक्ता भुसालले भन्नुभयो- ‘हामी एमाओवादीलाई सजिलो हुने गरी चुनाव बहिस्कार गर्दैनौं । तपाई ढुक्क हुनोस्, जेठमा चुनाव हुँदैन र खिलराज रेग्मीको नेतृत्वमा पनि चुनाव हुँदैन ।’
कांग्रेसमा व्यक्तिवादी विश्लेषण
एमाओवादी नेताहरुको विश्लेषणमा नेपाली कांग्रेसभित्र निर्वाचन छिटो गर्ने कि ढीलो भन्नेमा एकरुप बुझाइ छैन । ‘स्रोत भन्छ- कंग्रेस नेताले एमालेले जस्तो समग्र राष्ट्रिय परिस्थितिको विश्लेषण गरेका छैनन्, उनीहरु व्यक्तिपिच्छे आफ्नो निर्वाचन क्षेत्रको अवस्था के छ भन्नेमात्र हेरिरहेका छन् ।’
एमाओवादी नेताहरुको ब्याख्यामा नेपाली कांग्रेसका केही नेताहरुले जेठमै जसरी पनि चुनाव हुनुपर्छ भनेर जोड गरिरहेका छन् भने केहीले मंसिरमा गर्दा राम्रो भनिरहेका छन् ।
मधेसवादी दल पनि जेठको विपक्षमै
एमाओवादी विश्लेषणअनुसार सरकारमा सामेल मधेसवादी दलका नेताहरुसमेत जेठमा चुनाव गर्दा आफ्नो दललाई फाइदा नहुने निश्कर्षमा छन् । मधेशमा पार्टी संगठनमा ध्यान नदिइएको, मोर्चामा आवद्ध सबै दलहरु फुटेको र सत्तामा बसेका नेताप्रतिम धेसी जनतामा वितृष्णा बढेकाले मधेसी नेताहरु जेठमा भन्दा ०७० सालको छठ पर्वपछिमात्रै चुनाव गर्न पाए फाइदा हुने निश्कर्षमा रहेको बताइन्छ ।

No comments:

Post a Comment