Thursday, August 23, 2018

लोक सेवा फेल

म लोक सेवा फेल भएँ
साथीले भन्यो पत्रिकामा नाम छैन
म भन्छु...
फाल्दे पत्रिका त्यसको काम छैन
राधा बोक्सी बन्ने देशमा
संविधानका धाराको काम आएन
अँध्यारो कोठामा बसेर पढियो
जहाँ कहिल्यै घाम आएन
तर साथी भन्छ...
पत्रिकामा तेरो नाम आएन
साउथ चाइना सी थियो किताबमा
कोशी थिएन
पढ्ने उत्कट इच्छा मेरो दोषी थिएन
भूमध्य सागरको गहिराइ था'छ तर पसेको हैन
हिरोसिमाको कथा था'छ तर मैले देख्दादेख्दै एटम बम्ब खसेको हैन
पृथ्वीमा सबभन्दा तातो कहिले भयो ?
मलाई था'छ...न म यसलाई तताउन अनि सेलाउन सक्छु
संसार भरिका देशका सीमा केशका झैँ केस्रा केलाउन सक्छु
मलाई मिति कण्ठाग्र छ जङ्गबादुरले सु गरेको
फेतुल्लाह गुलेन था छ टर्कीमा कू गरेको
रकेटदेखि खाली पकेटसम्म
डलरदेखि मैलिएको कलरसम्म
आकाशको मङ्गलदेखि अफ्रिकाको जङ्गलसम्म
कण्ठ पार्दै रहेँ
तर साथी सुनाउँछ...म त फेल भएँ
मूर्तिका नाम, मान्छेका नाम
किताबका राजाका भान्छेका नाम
अलेक्जेण्डरले बोलेको देखि सिंहदरबार पोलेकोसम्म
कोशीको बाँध भत्केकोदेखि ब्यारेजका ढोका खोलेकोसम्म
याङ्सीको लम्बाइदेखि आमेजनको चौडाइसम्म
ऐलिजाबेथको हिँडाईदेखि बोल्टको दौडाईसम्म
मिति था'छ गण्डक बाँध 'असल छिमेकी'ले थुनेको
प्रताप मल्लले १५ भाषा बोलेको त मैले नै सुनेको
व्यासजीले १८ पुराण मेरै कोठामा लेखेको
कृष्ण मन्दिरमा गजुर हालेको त मेरै आँखाले देखेको
कार्ल मार्क्सको दाह्रीको केस्रा
शेक्सपियरले कोरेको खेस्रा
हिरोहितोको दनकदेखि हिटलरको सनकसम्म
सबै-सबै कण्ठ भो
देश चिथोर्नेहरूको नाम सम्झन नै लण्ठा भो
देश डुब्दा सँगै डुबियो, बल्दा सँगै तापियो
यति पढियो भुत्रो नापियो...नाम त अर्कैको पो छापियो
विभिन्न नामका मल्लैमल्ल
पढ्दापढ्दै अलमल्ल
कोही मन्दिर ठड्याउने कोही गजुर सिउरिने
मल्ल खलकले अचानक बनाए समाज अघि निहुरिने
महिन्द्र मल्ल ढुङ्गामा सुते, द्रव्य शाह गोर्खामा कुदे
जगज्योति पासामा जुधे, के-के पढियो पाँड्का फूँदे
सिँहदरबार जलाएर कीर्तिनिधिले तापेको
काष्ठमण्डप अड्याउन लक्ष्मीनरसिंले काँध थापेको
वीरगञ्जको ताप्के, चैनपुरको करुवा
हिटलरको युद्धपोत, प्रचण्डको भरुवा
गुल्मीको कफी पिइयो, इलामको चिया
लेकिन आज आकर लोक सेवा ने इतना धोका दिया
रात और दिन पढाया बड्का-बड्का ठेली
एक्जाम दिलाया कपी चेक करने बनगया साला झेली
विश्व व्रम्हाण्ड सारा घुलाकर हमने उत्तर लेखा
दारू पिके चेक किया उसने राइटको रङ देखा
दस प्रश्नोँका गोली दागा, हमने छाती थापदिया
चार महिनातक वेट कराया लेकिन दुसरेका नाम छापदिया
उसले अधिकृत बनाएन, आफैँ त्यत्तिकै बन्न पनि गाह्रो
समाज सामु लोकसेवा थर्ड इयर भन्न पनि गाह्रो
महाभारतका पात्रसँग भट्टीमा बारम्बार हात मिलाइयो
पास भइयो घोषणा बाँकी भन्दै पाण्डवलाई दारू पिलाइयो
झर्ला पानी भन्दै जाँचियो संविधानका सुकेका धारा
ग्लोब जस्तै घुम्छ टाउको आँखा अघि तारैतारा
यो संसारका कुना काप्चा एक-एक गर्दै ध्यानमा आयो
भूकम्प गयो ७२ सालमा पराकम्प अहिले ज्यानमा आयो
मिसिसिपी,पराना, जाम्बेजी र कङ्गो
घुमाएर सोध्यो प्रश्न, उत्तर झनै बाङ्गो
महासागर हाम्फालेर फित्ता लिएर गहिराइ नापियो
याकुत्स्कमा सिरक खापियो, अफ्रिकाको घाम तापियो
टङ्कन, मुद्रण खै के भाको हो नाम त फ्याट्ट अर्कैको पो छापियो !!!

Wednesday, August 22, 2018

स्तनपान : भ्रम र यथार्थ

पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा (ब्रेष्ट फिडिङ) फाउण्डेशन अफ लाइफ ‘स्तनपानः जीवनको आधार’ रहेको छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।
सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।
आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, शरिरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँदछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधैँ आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनीहरुमा अपेक्षाकृत वृद्धि विकास समेत नहुने हुन्छ ।
यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छ देखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहार मात्र हैन, यो जीवनरक्षक आहार पनि हो ।
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदी गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।
नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मियता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुश हुन्छ । त्यसै गरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।
आमाको दूध पोषणका लागि मात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।
आमाको दूध सूपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ ।
स्तनपानले दम र कानको रोग शरीरमा लाग्नबाट जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ । नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन् । स्तनपान गर्ने शिशुहरुमा सुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत वृद्धि हुन्छ ।
स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक विकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको छ ।
चीनले भने स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिबन्ध लगाएको छ, जुन आफैमा प्रशंसनीय र अनुकणीय कदम हो ।
स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ ।
जब स्तनपानका लागि सही स्थितिको प्रश्न उठ्छ यसमा दुईवटा कुराहरु अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो कुरा ‘बसाइ’ आफूलाई शारिरीक रुपमा आरामदायी र सहज हुनुपर्छ । दोश्रो कुरा ‘बसाइको स्थिति’ सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहजरुपमा पुर्यारउन सक्ने गरी बस्नुपर्छ ।
तपाईंका लागि कुन चाहीँ स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दूध चुसाउन कुन किसिमको बसाइ सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । तपाइले जुनसुकै स्थिति रोजे पनि दूध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडि तिर तान्न सक्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।

कबिता : मान्छे

यदाकदा भनूँ या सदासर्वदा
निरङ्कुशता हिंस्रक पशु भएर गर्जँदा
थुनिँदा बाटाहरू छेकिँदा गोरेटाहरू
श्वासप्रश्वास लिन पनि कष्टकर हुँदा
परिवेश लथालिङ्ग हुँदा, भताभुङ्ग हुँदा
आफूआफूमा आफैँ रमाएर
आफ्नो कक्षमा आफैँलाई घुमाएर
सुरक्षित ओत खोजेर बस्न मान्दैन
मेरो मान्छे मौन साधेर ।
सृजनामा सधैँ लीन रहन्छ मेरो मान्छे
गन्तव्य त कहाँ हो कहाँ छ
यात्रामा तल्लीन रहन्छ मेरो मान्छे
फैलाएर जाँगरिला हत्केलाहरू
नयाँ पथ निर्माणमा गतिवान् रहन्छ मेरो मान्छे
झुक्तैन कस्तै कुनै शिखरसँग
टाकुरा भेट्न प्रयत्नशील रहन्छ मेरो मान्छे
थामेर परिस्थितिका आँधीबेहरीहरू
नाघेर कति हो कति जँघारहरू
पिएर विषका तीता घुड्काहरू
समयको परीक्षामा सफल रहन्छ मेरो मान्छे
थिचिँदा पनि पहाडजस्ता विश्वासघातहरूले
पराजित हुँदै नभई
विश्वासका आधारस्तम्भ निर्माण गरेर
सधैँसधैँ हिँडेको छ मेरो मान्छे ।

उपेक्षाका शीतलहरहरू चल्दा
रक्तसञ्चार बन्द भएर लडेन मेरो मान्छे
देखेर चारैतिर अवरोधहरू
गन्तव्यबाट निराश फर्केन मेरो मान्छे
भोगेर परिस्थितिका जटिलताहरू
आत्मरक्षाले भयकम्पित भएन मेरो मान्छे
बोकेर दुःख र कष्टका पहाडहरू
किंकर्तव्यविमूढ भएर झुकेन मेरो मान्छे
प्रहार गरे एटम न्युट्रोनहरूले
तर हिरोसिमा नागासाकीजस्तो भएर
डढेन मेरो मान्छे
तिरस्कारका चक्रवातहरू चलिरहे
उपेक्षाका खडेरीहरू परिरहे
तर पनि छातीभित्र कुलकुलाउने
प्रेमको मूल फुटाइरह्यो मेरो मान्छेले
छातीभित्रको शूल लुकाइरह्यो मेरो मान्छेले ।
कष्टकर प्रक्रियाबाट पार हुँदै
बनेपछि मानव मोनेराबाट
चुनौती दिँदै जीवनका जटिलताहरूलाई
पन्छाउँदै प्रकृतिका दूरूहताहरूलाई
निस्पट्ट अँध्यारा गुफाहरू
लामालामा चिसा हिमयुगहरू
पार गर्दै विजयी बन्यो मेरो मान्छे ।
मेरो मान्छे स्वतन्त्र रह्यो
मेरो मान्छेले इच्छानुकूलको भूमि चुन्यो
स्वप्नदर्शी थियो ऊ, अन्तहीन सपना बुन्यो
मनको अन्तरालबाट परिवर्तनको बाटो चुन्यो ।
तर जब समाप्त भए
आदिम स्वतन्त्र युगहरू
गुमायो मानिसले
आफ्नो स्वाधीनता र स्वाभिमान
मेरो मानिस दास बन्यो
प्रेमको साटो घृणा
आत्मीयताको साटो उपेक्षा
विश्वासको साटो विश्वासघात
बारम्बार आहत हुँदै गयो मेरो मान्छे
घरीघरी मर्माहत हुँदै गयो मेरो मान्छे
विभीषिकाहरू, विपत्का शृङ्खलाहरू
आँधिबेहरी छिचोल्दै गयो मेरो मान्छेले
तर पनि उसभित्र
आत्मीयताको फूल मुस्कुराइरह्यो
तर पनि उसभित्र
प्रेमको मूल कुलकुलाइरह्यो ।
कसले औँल्याउन सक्छ
मेरो मानिस विस्थापित भई झरेको
कसले देखाउन सक्छ
मेरो मानिस भयकम्पित भई लडेको
बारम्बार आत्मबलिदानको
उदाहरण बनेको छ मेरो मान्छे ।
घोटिँदा घोटिँदा अनेकौँ पटक
समयको कसीमा
कसविहीन साबित भएको छ मेरो मान्छे
अविरल अनि लामो यात्रामा सृष्टिको
अनन्त दुखेको
तर कहीँ नचुकेको मेरो मान्छे
अखण्ड कालरात्रिहरूमा पनि
असभ्यताका बर्बर आँधीहरूमा पनि
हजारपल्ट मूच्छिर्त हुँदै हजारपल्ट ब्यूँझदै
सत्यको सर्मथनमा, न्यायको पक्षमा
जयघोष गर्दैर् आएको छ मेरो मान्छे
फिलुङ्गोजस्तो मात्र थियो
बिस्तारै ज्वाला भएर दन्कियो मेरो मान्छे ।
अन्धकार काला गुफाहरूबाट
ब्यूँझियो मेरो मान्छे
छताछुल्ल पोखिए उसका सपनाहरू
कोमल पैतालाहरू उठाएर
यात्राको आरम्भ गर्यो
अत्यन्त दुरूह यात्रामा प्रस्थान गर्यो
अग्लाअग्ला पहाड भनेन, तुफानी नदी भनेन
आँधी भनेन, हिमपात भनेन
अविरल चलिरहे-चलिरहे उसका पैतालाहरू
कहिले हिलाम्य भएर, कहिले रक्ताम्य भएर
बाक्ला भयानक जङ्गलहरू
हिंस्रक जङ्गली जनावरहरू
लामालामा विहड यात्राहरूको क्रममा
हजारौँ-हजाराैं आपत् र विपत्हरू पार गर्दै
ताते गर्दै सशङ्कित भएर ओर्लिएर
अँध्यारा काला गुफाहरूबाट
ब्रह्माण्डसम्म तन्कियो मेरो मान्छे
जीवनलाई आहुति दिँदै
कष्टकर प्रक्रियाहरू पार गर्दै
ज्ञानका नयाँनयाँ क्षितिज
उघार्दै गयो मेरो मान्छे
थकाइ मारेन प्राप्त सफलताहरूसँग
नयाँनयाँ प्राप्तिहरूको खोजमा
संलग्न रह्यो मेरो मान्छे ।
मुक्त भएपछि दुईवटै हातहरू
मेरो मान्छे अघि बढ्दै गयो
निराशा र कष्टको जँगार छिचल्दै गयो
हरेक क्षेत्रमा, हरेक फाँटमा
नयाँनयाँ परिधिहरूको अन्वेषणमा
भूगोलको परिधि
ज्ञानको पराकाष्ठा
विज्ञानको सीमा
विस्तारित गर्दै गयो मेरो मान्छे
स्थापित हुँदै गयो मेरो मान्छे ।
तर यात्रामा पृथ्वीको ब्रह्माण्डमा
अनेकौँ पल्ट अनेकौँ पल्ट
मेरो मान्छे काकाकुल बन्यो
मेरो मान्छे शोकाकुल बन्यो
थकित भयो मूच्छिर्त भयो
पटकपटक
ग्रहण लाग्यो खग्रास भयो होला उज्यालो
अन्धकारले साम्राज्य कायम गर्यो होला
क्लान्त भयो होला शरीर ।
तर पनि हार मानेन मेरो मान्छेले
तर पनि निराश भएन मेरो मान्छे ।
मर्माहत भयो होला सत्य
विजयघोष भयो होला असत्यको
ङ्याकियो होला घाँटी न्यायको
पहिरियो होला विजयमाला अन्यायीले
छेकबार लाग्यो होला प्रगतिमा
शिर उठायो होला दुर्गतिले
तर उहिले र अहिले, भनौँ जहिले-तहिले
एकै निमेष नसोचीकन
मेरो मानिसले न्यायका पक्षमा हात उठाएको छ
मेरो मानिसले सत्यको समर्थनमा स्वर उरालेको छ
आफूले आफैँलाई निसानी लगाउँदै
आफूले आफैँलाई प्रहार गरेर
कठिन बलिदान दिँदै आएको छ मेरो मान्छेले
जटिल मार्ग प्रस्तर गर्दै
चुनौतीहरूको सामना गर्दै आएको छ
घरीघरी आहत हुँदै आएको छ
पटकपटक मर्माहत हुँदै आएको छ
मेरो मान्छे ।
टक्कर लिँदै, ठक्कर दिँदै अक्करहरूलाई
समयका भीषण प्रपातहरूमा
कतै नझुकेकाे, कहीँ नचुकेको मेरो मान्छे
शताब्दीऔँको यात्रामा
युगहरूका विचरणहरूमा
जर्जर मान्यताहरूका सङ्कीर्ण आक्रमणहरूबाट
कहिल्यै पनि विचलित भएन
बर्बर चिन्तनको प्राणघाती परीक्षामा उत्तीर्ण हुँदै
युग परिवर्तनको प्रवाहमा हेलिँदै
कुण्ठित परिवेशबाट उद्वेलित हुँदै
ठोक्किँदै आएको छ मेरो मान्छे
कोक्किँदै आएको छ मेरो मान्छे
पन्छाएर अज्ञानताको कुम्भकर्णे निद्रा
ज्ञानको दीप प्रज्वलित गर्दै आएको छ मेरो मान्छे ।
भष्मासुरहरू हत्केलाहरू फैलाउँदै आए
दुःशासनहरू चीरहरणका लागि प्रयासरत रहे
विरोधहरू जुटे अवरोधहरू जुटे
चारैतिर डढेलो छर्दै ज्वालामुखीहरू फुटे
तर सबैसबै पन्छाउँदै
लक्ष्य साधेर बढेको मेरो मान्छे
हजार अवरोधहरू जुटून्
हजार हत्केलाहरू उठून्
कहिल्यै नरोकिने अविरल यात्री
सधैँ गतिशील,
सधैँ प्रयत्नशील मेरो मान्छे ।
सम्पूर्ण गतिहीनताको विरूद्ध
मान्छे हुरी हुन्छ र हुँकार गर्छ
सम्पूर्ण अन्योलग्रस्तताका विरूद्ध
मान्छे चक्रवात हुन्छ र गर्जन गर्छ
साहसपुञ्ज अनि अविराम गति उसको
गतिशीलताको अर्को नाम हो मेरो मान्छे
निर्भीकताको अर्को उदाहरण हो मेरो मान्छे
ज्यारदार्नो ब्रुनो पाखण्डीहरूबाट अग्निदाह गरिने
सुकरात दुष्टहरूको विषको प्याला स्वीकार गर्ने
तर स्वीकार नगर्ने असत्यलाई
युगौँयुगदेखि सृष्टिको शुभारम्भदेखि
प्रकृतिका भीषण प्रकोपहरूसँग
हिमयुगका लामालामा शृङखलाहरूसँग
जुझ्दै हिँडेको मेरो मान्छे
भिड्दै हिँडेको मेरो मान्छे
कति हो कति लामो यात्रा
तय गर्दा पृथ्वीले ब्रह्माण्डको
जहिले-तहिले विकटतासँग जुझ्दै आएको
समयलाई कठिनतम परीक्षा
दिँदै आएको मेरो मान्छे ।
परिस्थितिको दास कहिल्यै भएन मेरो मान्छे
समयका कठिनतम कोणहरूमा
निराश कहिल्यै भएन मेरो मान्छे
एउटा मूल्य स्थापित गर्न
एउटा अक्करमा बाटो खन्न
गहन अन्धकारमा दीपझैँ बल्न
असभ्यतासँग, अन्यायसँग, बर्बरतासँग
अत्याचारसँग, दमनसँग, यातनाका दावानलहरूसँग
मृत्यु, पाखण्ड र अमानवीयतासँग
मानवको अनुहार लिएका दानवसँग
ठूलाठूला विनाशकारी युद्धसँग, युद्धसरदारसँग
हिटलरसँग, मुसलिनीसँग
भयकम्पित भएन मेरो मान्छे
एकक्षण पनि टक्क अडिएन मेरो मान्छे
आत्मबल हराएर काँतर भएन मेरो मान्छे
लड्दै गयो, लड्दै गयो
असहज र अन्धकार परिवेशमा पनि
अघि बढ्दै गयो
असभ्यता भत्काउँदै गयो,
अन्धकार मेटाउँदै गयो
सृजनशील मस्तिष्क र दृढ
पैतालाहरूले अघि बढ्दै गयो
स्वप्नद्रष्टा थियो अन्तहीन सपना बुन्यो
मनैबाट कर्मैबाट परिवर्तनको बाटो चुन्यो ।
कठिन प्रश्नको समाधान हो मान्छे
साहस र शक्तिको परिचय हो मान्छे
युगको सशक्त विजय हो मान्छे
चेतनाका प्रखर रश्मिहरू
प्रज्वलित भएपछि मस्तिष्कमा
दह्रोभन्दा दह्रो बन्धन
चुँडाल्न सक्छ मेरो मान्छे
चुँडालेर पराधीनताका साङ्लाहरू
ब्यूँझेर अज्ञानता गहिरो निद्राबाट
मुक्तिको गीत गाउँछ मेरो मान्छे ।
लामो हिँडाइमा समयको
मेरो मानिस युगनिर्माता बन्यो
बोधिसफ्व प्राप्त गर्यो
मेरो मान्छेले र बुद्ध बन्यो
राक्षसतफ्वले परास्त भयो कहिले
युद्धसरदार बन्यो
कसरी ढुङ्गो भयो मेरो मानिसको मन
कसरी लाटोबुङ्गो भयो मेरो मानिसको चेतना
मेरो मानिस हिटलर बन्यो
सुरम्य बोधिवृक्षको फेदीदेखि
भयावह ग्याँस-च्याम्बरसम्म
मेरो मानिसले
नयाँनयाँ कुराको कीर्तिमान कायम गर्यो
अविश्वसनीय उदाहरणहरू स्थापित गर्यो
त्याग र बलिदानको कीर्तिमान
साहस र धैर्यको कीर्तिमान
नवनिर्माणको कीर्तिमान
सुन्दर संरचनाको कीर्तिमान
कतैकतै एकादुई विध्वंसको कीर्तिमान
मेरो मानिस नदीजस्तो बहँदै गयो
धेरै छालहरू जीवनदान गर्दै गए,
उर्वरता छर्दै गए
कहीँ-कतै कुनैकुनै छालहरूले
विनासको दुन्दुभि फुक्तै गए,
सर्वनाश गर्दै गए
कतैकतै इतिहासका शुभ्र पानाहरूमा
अङ्कित पनि भए ग्यासका च्याम्बरहरू
भष्मीभूत बने मानिसहरू
ज्यूँदै चिहानमा पुरिए सपनाहरू
जे भए पनि जस्तो भए पनि
पीरले कहालीको इतिहासको पानामा
देखिए पनि रगतका छिटाछाटीहरू
कहीँकतै रचिए पनि कोतहरू
कहीँकतै उघारिए पनि ओतहरू
तर विश्वास छ मलाई
एक दिन भयमुक्त हुनेछ यो विश्व
उठेपछि कुहिरो स्वार्थको
अवश्य प्रेमयुक्त हुनेछ यो विश्व
द्वन्द्वमा सत्य र असत्यको
युद्धमा न्याय र अन्यायको
सत्य र न्यायको विजयमा
उन्मुक्त हुनेछ मेरो मान्छे
त्यसपछि सुन्दर संसारको
अनवरत सृजनामा लीन हुनेछ
मेरो मान्छे ।
सबैसबै भुमरीहरू छल्दै
सबैसबै अत्यासहरू पन्साउँदै
आततायीहरूलाई हुँकार गर्दै, ज्यातिपुञ्जझैँ बल्दै
आकाङ्क्षाको सर्वोच्च शिखर ताकेर
अथाह उपलब्धिमा तल्लीन हुनेछ मेरो मान्छे
फालेर विषाक्त हतियारहरू
खोस्न छाडेर निर्धा-निमुखाको अधिकार
त्यागेर द्वेष र ईष्र्याहरू
धरतीलाई सुन्दर अनि शान्त रङ्गमञ्च बनाउन
प्रयत्नशील हुनेछ मेरो मान्छे
हाम फाल्नेछ अथाह ब्रह्माण्डको यात्रामा
सधैँसधैँ गतिशील हुनेछ मेरो मान्छे
नयाँनयाँ आविष्कारहरूमा
तल्लीन हुनेछ मेरो मान्छे
दुःख र कष्टका विषम जराहरू
चुँडाल्दै जानेछ मेरो मान्छेले
परास्त गरेर मृत्युलाई अमर हुनेछ मेरो मान्छे
अति सुन्दर हुनेछ रङ्गमञ्च संसारको अनि
त्यसको महानायक हुनेछ मेरो मान्छे ।
हिंसाको, युद्धको, कोलाहालको,
हत्याको र हाहाकारको विरूद्ध
शान्तिको, प्रकाशको, समर्थनमा
मानवता र भाइचाराको पक्षमा
धरतीमात्र होइन
सम्पूर्ण ब्रह्माण्डकै अधिपति हुनेछ मेरो मान्छे ।
आणविक अस्त्रहरू विनाश गर्न
युद्धसरदारहरूको विरोधमा
हुँकार गर्दै उठ्नेछ मेरो मान्छे
नयाँनयाँ मार्गहरू प्रस्तर गर्दै
धरतीलाई जगमग बनाउँदै,
जीवनलाई सुखी र सुन्दर बनाउन
नयाँनयाँ रहस्यहरूको उद्घाटन गर्दै
अघि, अघि अझ अघि
बढ्दै जानेछ मेरो मान्छे ।
मेरो मान्छे चिनिनेछ
फगत मान्छे भनेर
जातीयता, साम्प्रदायिकताको
साघुँरो घेराबाट मुक्त बनेर
र केवल मान्छे भनेर चिनिनेछ मेरो मान्छे
केवल मान्छे भनेर जानिनेछ मेरो मान्छे ।
म कामना गर्छु मनैदेखि
त्रसित नहोस् मान्छे मान्छेसँग
अर्मूत नबनोस् मान्छे मान्छेसँग
धूर्त नबनोस् मान्छे मान्छेसँग
हत्केलाहरू फैलियून् सधैँसधैँ
सृजनाका लागि, निर्माणका लागि
विभाजनका रेखाहरू मेट्न
पैतालाहरू सक्रिय हुन् सधैँसधैँ
मानवताको शिखर भेट्न
हराएर बुद्धिविवेक विकृत नहोस्
हृदयहरूमा मानव-प्रेम झङ्कृत होस्
सृष्टिको यो सुन्दर प्रशान्त
कहिल्यै अशान्त नहोस्
प्रवेश निषेध नलेखियोस् हृदयद्वारमा
सत्यका लागि, न्यायको पक्षमा
बितोस् जिन्दगी सधैँसधैँ
स्वार्थान्ध नहोस् मानिस कहिल्यै
सबैसबैको मनमा बुद्ध बसून्
युद्धले क्षतविक्षत छातीमा धराको
शान्तिको अक्षय लिउन घुसून्
करूणाले सधैँ ओतप्रोत होस् मेरो मान्छे
मानवताको अनुपम उदाहरण बनोस्
मेरो मान्छे
युगयुगसम्म धरतीको यस रङ्गमञ्चमा
यात्रारत रहोस् मेरो मान्छे
सृष्टिले जसरी फुलायो मानिसलाई
कृतज्ञ होस् मानिस सधैँसधैँ
जीवनप्रति, जगत्प्र्रति
शान्तिको अग्रदूत बनोस् मेरो मान्छे ।