Tuesday, May 28, 2013

यस्तो थियो वीरेन्द्रको सम्बोधन

यस्तो थियो वीरेन्द्रको सम्बोधन 

print

  •  प्यारा देशवासीहरू प्रजातन्त्रका आदर्शलाई हामीले कहिलै छाड्ने छैनौं भन्ने हाम्रो धारणा सम्पूर्ण देशवासीहरूलाई बेला मौकामा स्पष्ट पार्दै आएको कुरा सर्वविदितै छ । सबै नेपालीहरू अटाउने एउटै घरको मूलढोका दलविहीन प्रजातान्त्रिक पञ्चायत प्रणाली भएकाले नेपालको स्वाधीनतालाई अखण्डरूपमा जोगाई नेपाली मात्रको सर्वांगीण विकासको काममा अघि सरैां भनी हामीले काम गरिआएका छौं ।
एकातिर लोक सम्मति नै पञ्चायत व्यवस्थाको आधार रहिआएको छ भने अर्कोतिर जनआकांक्षा अनुकूल देशको शासन व्यवस्था चलाउनु हाम्रो परम्परा र कर्तव्य रहिआएको छ ।
त्यसैले देशको विद्यमान परिस्थितिको परिपे्रक्ष्यमा हाम्रा देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन् ? सो कुरा प्रष्टरूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालीग मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौं ।
यस्तो राष्ट्रिय जनमत लिँदा दुई मूलभुत प्रश्नहरू गरिनेछन् । पहिलो, के हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामूहिक सुधार गर्दै जाने अथवा त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ?
यस्तो जनमत लिँदा ढिलो गर्नु उपयुक्त नहुने भएकोले हामीले एकहप्ता भित्र एक राष्ट्रिय चुनाव आयोगको गठन गरिबक्सने छौं । र, उक्त दुई प्रश्नहरूका आधारमा उमेर पुगेका सबै योग्य नेपालीहरूले आफ्नो गोप्य मतदान दिन पाउने छन् । यस्तो जनमत लिँदा सम्पूर्ण रूपमा स्वतन्त्र निष्पक्ष र धाँधली हुन नसक्ने व्यवस्था मिलाउन सबैबाट सहयोग प्राप्त हुनेछ भन्ने हामीले आशा राखिबक्सेका छौं । हाम्रो देश हामी सबैलाई प्यारो छ । जसरी इतिहासको प्रत्येक घडीमा हामी एक अर्काका भरमा अघि बढेका छौं, त्यसैगरी हामी सबैले एक अर्काको सुखदुख बुझी हाम्रो स्वाधीन हिन्दू अधिराज्य नेपाल र हाम्रो आफ्नै विशिष्ट नेपाली सभ्यतालाई युगयुगान्तर सम्म दिगो राख्नु हामी सबैको साझा कर्तव्य हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल !
२०३६ जेठ १० गते
अडियो सैाजन्य- रेडियो नेपाल

‘उमा’ हेर्न छुटाउनुहोला है!

द्वन्द्वका बेला नेपाली समाजले बेहोरेको छटपटीलाई केन्द्रमा राखेर बनेको चलचित्र ‘उमा’ यतिबेला हलहरूमा चलिरहेको छ ।
एउटै परिवारका कुनै सदस्य प्रहरी वा सेनामा हुनु र कुनै सदस्य माओवादीमा लाग्नु युद्धका बेला आम परिस्थिति थियो । त्यसैलाई समातेर त्यो सिंगो कालखण्ड देखाउने चेष्टा सिनेमाले गरेको छ ।
कथाको सुरुवात एउटा ग्रामीण मध्यमवर्गीय परिवारको सामान्य दैनिकीबाट हुन्छ । कर्तव्यपालनकै सिलसिलामा ज्यान गुमाएको एउटा प्रहरीकी विधवा, उसको उत्तिकै कर्तव्यनिष्ठ असई छोरा र पढ्दै गरेकी छोरी। स्कुल पढाउने गुरु कवि हुन्छन् । उनका कविताले केही स्कुले केटाकेटीलाई तान्छ । विस्तारै विद्रोही चरित्रका गुरुको विचारसँग ती विद्यार्थी नजिकिन थाल्छन् । द्वन्द्वकालीन समयका ती गुरु सुरक्षाकर्मीको नजरमा सहजै ‘माओवादी’ बन्न पुग्छन् । मारिन्छन् । कथा सुरु हुन्छ ।
सिनेमा दुई दाजुबहिनीबीचको द्वन्द्व र त्यसको माझमा यातना भोग्ने आमामा प्रवेश गर्छ । विभेदरहित समाजको परिकल्पना गर्नेहरूसँगको उठबसमा विचार हुर्काएकी बहिनी र कर्तव्यबाट एक इन्च नहट्ने दाजु दुवै कसैसँग सम्झौता गर्दैनन् । सिंगो परिवार क्रमशः पिल्सँदै जान्छ । परिबन्दमा परेरै एउटा घटनाले त्यो बहिनीलाई भाग्नुपर्ने अवस्थामा पु¥याउँछ र ऊ माओवादी बन्छे । दाजुबहिनीबीचको खाल्डो झन्झन् गहिरो बन्दै जान्छ, एउटा वियोगान्तमा पुगेर सिनेमा नटुंगिउन्जेल ।
द्वन्द्वकालीन समयमा नेपाली समाज अनगिन्ती उथलपुथलबाट गुज्रिए पनि त्यस्ता घटनालाई स्वतन्त्र रूपले देखाउने प्रयास कमै भएका छन् । उमामा सबैभन्दा पहिले प्रशंसा गर्नुपर्ने ठाउँ यसले दुवै पक्षप्रति तटस्थ रहेर वर्णन गरेको कथा हो । मानवीय संवेदनामा केन्द्रित कथाले द्वन्द्वपक्षीय दुवै धारलाई आफ्नो भनाइ राख्ने ठाउँ दिएको छ । त्यो नै अहिलेको नेपाली सिनेकर्मीहरूमा नपाइने दुर्लभ गुण हो । सिनेमामा इन्स्पेक्टर मारिन्छन् । दर्शकको मनमा ‘कठै’ आउँछ । सिनेमामा माओवादी मारिन्छन् । त्यही दर्शकको मनमा ‘कठै’ आउँछ । जबकि दुवै मारिनुका पछाडिको परिस्थिति मजाले विकास भएको हुन्छ ।
यसरी पात्रहरूको निर्माण, चरित्र विकास र उनीहरूबीचको सम्बन्ध प्रस्तुतिमा अब्बल रहेको यो सिनेमा निर्माणका हिसाबले चाहिँ प्रश्नरहित बन्न सकेको छैन ।
छिरिङ रितार शेर्पा नेपाल मात्र नभई विश्वभरि नेपाली सामग्री हेर्ने दर्शकले सम्भावना देखेका प्रतिभा हुन् । पहिलोपटक उनले आफ्नै तिब्बती शरणार्थी परिवेशमा बनाएको वृत्तचित्र ‘स्पिरिट डजन्ट कम एनिमोर’ बाह्य संसारले मन पराएको नेपालीद्वारा निर्मित थोरै वृत्तचित्रमा पर्छ । थुप्रै वृत्तचित्र दिएका छिरिङले यसअघि पनि ‘मुखुण्डो’ र ‘कर्मा’ जस्ता अलग धारका सिनेमा बनाएका छन् ।
‘उमा’ बनाउँदा छिरिङले सिनेमाहल जाने बहुसंख्यक नेपाली दर्शकलाई आफ्नो ‘कन्भिन्सिङ’ सिनेमामा कसरी तान्ने भनेर भरमग्दुर प्रयत्न गरेका छन् । उनले गीत हालेका छन्, मारामार देखाएका छन् र सेक्स पनि छ । मारामार र सेक्स जति स्वाभाविक छ, गीतलाई पनि गजबको खुबीबाट बजाएका छन्, नचाएका छन् ।
उतिबेलै गोपाल योञ्जनले बनाएको ‘वनकी चरी सानी, नचाऊ मलाई पनि, तिमीजस्तै छमछम’ लाई उनले सही ठाउँमा सही किसिमले देखाएका छन् । जनवादी गीत र नृत्य त स्वाभाविक भई नै हाल्यो । त्यसैगरी सिनेमा क्लाइमेक्समा पुग्दै गएपछि अभया सुब्बाको गीतले पनि दृश्य सुहाउँदो मुडमा दर्शकलाई लैजान सघाउँछ । तुलसी घिमिरे र उनको ‘हमाल’ हिरोले एकैछिन भए पनि दर्शकको एकाग्रता भंग गर्छन् । सिनेमा बनाउँदा यस किसिमको निर्देशकीय उपाय आवश्यक हुन्छ । सामान्य निर्देशकले यस्तो स्थानमा हँसाउने पात्र वा अस्वाभाविक चरित्र प्रयोग गर्छन् । तर, छिरिङले यहाँनिर त्यसबाट पनि फाइदै उठाएका छन्, द्वन्द्वका बेला सिनेकर्मीहरू कति प्रताडित थिए भन्ने देखाएर ।
सिनेमामा लगातार बाजी मार्दै आएका छिरिङ अन्त्यमा भने नराम्ररी चुकेका छन् । भारततिर पनि निकै सस्तो व्यावसायिक निर्देशकले अपनाउने बाटो प्रयोग गरेर उनले सिनेमाको अन्त्य गरेका छन् ।
सिनेमाका अन्य पाटामा मसला हाल्नु छिरिङको गल्ती देखिँदैन । तर, यसलाई बढाउँदै लगेर सिनेमाको मूलकथाको क्लाइमेक्समा तितै हुनेगरी पोखिदिँदा त्यति राम्रोसँग अघि बढ्दै गएको सिनेमा अचानक नाटकीय अन्त्यमा गएर टुंगिन्छ । कथाअनुसार रुनुपर्ने हुन्छ तर प्रस्तुतिले दर्शकलाई अप्ठेरो पार्दै उठाउँछ ।
आमाको रूपमा अभिनय गर्ने मिथिला शर्मा, छोरी ऋचा शर्मा र छोरा सौगात मल्लले प्रत्येक परिस्थितिमा गरेको अभिनय स्वाभाविक छ, जीवित छ र दर्शक मनमा गहिरो प्रभाव पार्ने स्तरको छ । उनीहरू मात्र होइन, यस सिनेमामा प्रत्येक पात्रको सटिक चयन गर्ने कास्टिङ डाइरेक्टरकै प्रशंसा गर्नुपर्ने हुन्छ । त्यसमाथि ती सबै पात्रलाई उनीहरूको अघिल्लो सिनेमाभन्दा अझ राम्रोसँग काम लिन छिरिङ सफल भएका छन् । उदेकलाग्दो अन्त्यबाहेक बाँकी सबै मामलामा उत्कृष्ट रहेको सिनेमाको सबैभन्दा ठूलो विशेषता सम्पूर्ण पात्रको स्वाभाविक अभिनय नै हो । छायांकनको खुबी पनि उत्तिकै देखिन्छ ।
द्वन्द्वकालीन नेपाली समाजलाई बुझ्न एउटा उपयोगी कृति दिएका छन् छिरिङ रितारले । समकालीन नेपाली सिने उद्योगबाट आएको यो एउटा उत्कृष्ट प्रस्तुति हो ।

Wednesday, May 22, 2013

आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा !


आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा !

६ घण्टापछि भेटे बाबुआमाले

८ जेठ, काठमाडौं । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने………..। चिन्ता नगर्नुस्, यस्तै घटना व्यहोरेका एक दम्पत्तीले आफ्नो ७ महिने बालकलाई सकुशल भेट्टाएका छन् ।
घटना हो, मंगलबार रातिको । रुपन्देहीको बुटवल नगरपालिका ११ मिलनटोलका विकास मित्तल र ममता मित्तल आफन्तको बिहेभोज मानेर काठमाडौंबाट घर फर्कँदै थिए । रिजर्ब गरिएको लु १ ख ६९४७ नम्बरको बसमा सबै मित्तलकै आफन्त थिए । रातिको समयमा बस आफ्नै सुरमा गुड्दै थियो ।
यो पनि पढ्नुस्
दुई दिनसम्म बिहेको दौडधूप र गर्मीका कारण सबै थकित थिए । झ्याल खोलेर हावा लिँदै उनीहरु उँघ्न थाले । मित्तल दम्पत्तीको साथमा ७ महिने छोरो पनि थियो । पहिलो सन्तान छोरो खेलाउँदै रहेका उनीहरुलाई पनि निद्रा लाग्यो । आमा ममताको काखमा रहेको छोरो निदाउन थाल्यो । छोरो निदाएपछि बाबुआमा पनि सिटमै निदाए ।
child-2
बुधबार बिहान ६ बजेतिर बस मुग्लिङ कटेर नवलपरासीको दलदलेमा पुग्यो । त्यहाँ सवारी जाम भएकाले बस रोकियो । हल्लाखल्ला भएपछि बसभित्र सिटमा निदाएका यात्रु बिउँझिए । मित्तल दम्पत्तीको पनि आँखा खुल्यो । आँखा खुल्ने बित्तिकै दुवैजना झसँग भए, काखमा रहेको छोरो छैन । अरु आफन्तको सिटमा गयो कि भनेर अघिपछि हेरे । तर अहँ छोरो देखिँदैन । बसभित्र खैलीबैली भयो । सिटमुनी कतै खेल्दैछ कि भनेर सबैले यताउता हेरे । बालक कतैपनि छैन । सबैजना रोइकराई गर्न थाले । पक्कै झ्यालबाट खस्यो, लौ के भयो……भन्दै सबै डराए । हतारहतार बस फर्काएर उनीहरु नवलपरासीबाट काठमाडौंतिर फर्किए ।
प्रहरीलाई छुट्टै तनाव
चितवनको फिस्लिङ नजिकै सुनसान राजमार्ग । वरपर नजिक वस्ती छैन । जंगल र झाडी मात्र । रातको साढे १२ बजे त्यस्तो सुनसान ठाउँको सडक कुनामा एउटा बच्चा रोइरहेको छ । काठमाडौंबाट नारायणघाटतिर गैरहेका एक ट्रक चालकले त्यो दृश्य देखे । उनले ट्रक रोके । बच्चालाई बोके र नजिकै मझिमटार प्रहरी चौकीमा लगेर बुझाए ।
सुनसान जंगलमा भर्खरको बच्चा भेटिएको खबर पाएर प्रहरी पनि झसँग भए । ‘त्यो ठाउँ बढी दुर्घटना हुने र कसैकसैले आत्महत्या गर्ने गरेको क्षेत्र पनि हो, त्यसैले हामीले धेरै कोणबाट आशंका गर्यौं’ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले अनलाइनखबरसित भन्नुभयो-’हामीले रातभर अनुसन्धान गर्यौं, तर यो दुवै घटना भएको देखिएन ।’
कसैले अपहरण गरेर छोडेको हो कि भन्ने प्रहरीले आशंका गर्यो । त्यसपछि धादिङका सबै प्रहरी कार्यालय र चितवनमा समेत राति नै यस घटनाको जानकारी गराउने काम भयो । बच्चालाई चाहिँ जोगिमारा ल्याएर राखियो । ‘त्यहाँ पुग्दासम्म बच्चा रोइरहेको थियो, तर महिला प्रहरीले स्याहार गर्न थालेपछि उ चुप लाग्यो, त्यहाँ उसलाई खानेकुरा खुवाउने र सुताउने काम गरियो’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो । रातिसम्म पनि बच्चाको बारेमा केही थाहा नभएपछि उसलाई बुधबार सबेरै इलाका प्रहरी कार्यालय गजुरी पुर्याइयो ।
६ घण्टापछि भेटे बाबुआमाले
नवलपरासीको दलदलेमा पुगेपछि मात्र छोरो हराएको पत्तो पाएका बाबुआमा र आफन्त बुधबार बिहान रुवाबासी गर्दै मुग्लिन आइपुगे । त्यहाँ प्रहरीलाई घटनाको बेलिबिस्तार लगाए । फिस्लिङ नजिकै सडकमा राति एउटा बच्चा बेबारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले थाहा पाइसकेका थिए । पक्कै यिनीहरुकै बच्चा हुनुपर्छ भनेर प्रहरीले गजुरीमा पठाइदिए ।
हतार हतार गजुरी पुग्दा मित्तल दम्पत्तीले देखे-सानो छोरो प्रहरीसित खेलिरहेको । हर्षले सबैका आँखा रसाए । छोरोलाई काखमा लिएर म्वाई खाए । बाबुआमाको काख पाएपछि बालक पनि दंग पर्यो । उनीहरुले प्रहरीलाई धन्यवाद दिए । प्रहरीले बच्चालाई यसरी खेलाँची नगर्न सचेत गरायो ।
गुडिरहेको बसबाट खस्दा समेत बच्चा सकुशल भेटिएकोमा प्रहरी, बाबुआमा र आफन्त सबै चकित भएका छन् । ‘मोड भएकाले बसको स्पिड कम भएको हुनुपर्छ, अनि झ्याल खुलै भएकाले बस कोल्टँदा अथवा आफ्नो सुरले खेल्दा बच्चा खसेको हुनसक्छ’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो-’हामीले यस्तो घटना पहिलोपटक भोग्यौं ।’